Saturday, December 13, 2025

Fact Check

Fact Check: प्रधानमन्त्रीमाथि गोली प्रहार भएको भ्रामक दाबी सामाजिक संजालमा भाइरल

Written By Aakash Chhetri
Oct 10, 2023
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको र गोली प्रहार गर्ने दुईजना युवा पक्राउ परेको दाबी । 
तथ्य: बझाङ जिल्लामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको दाबी भ्रामक छ । 

सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा बझाङ जिल्लामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको र गोली प्रहार गर्ने दुईजना युवा पक्राउ परेको दाबी गरिएको छ । 

PRASANT NEPAL नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मानिसहरुको भीड र केही सुरक्षाकर्मीहरू देख्न सकिन्छ । साथै त्यहाँ हुलदंगा तथा नारावाजी भइरहेको र प्रहरीलाई केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको दृश्य पनि देखिन्छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘बझाङमा प्रचण्डमाथि गोली प्रहार,गोली प्रहार गर्ने दुई युवा प्रहरी नियमन्त्रणमा ।’ 

दुई दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा व्यापक फैलिएको देखिन्छ । पोस्ट गरिएको छोटो समयमै उक्त भिडियोमा करिब ५० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको सामग्रीलाई १३ सयभन्दा बढीले सेयर गरिसकेका छन् । 

यतिमात्र होइन, दाबीसहितको मूल भिडियो र अडियोबाट अन्य भिडियोहरु पनि पुनर्उत्पादन गरिएको छ । यो रिपोर्ट तयार पार्दासम्म २३ वटा नयाँ भिडियोहरू पुनर्उत्पादन गरिएको देखिन्छ । आगामी दिनमा उक्त दाबी झनै फैलिनसक्ने संकेत प्रस्तुत तथ्यहरुबाट प्रष्ट भएको छ । 

अर्कोतर्फ प्रधानमन्त्रीमाथि नै गोली प्रहार भएको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले हामीले प्रस्तुत दाबीसहितको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

गत असोज १९ (२०८०) गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ पुगेका थिए । भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्न प्रधानमन्त्री बझाङ पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड बझाङ पुगेको सन्दर्भमा उनीमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने दुईजना युवा पक्राउ परेको दाबी गरिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ पुगेका बेला केही स्थानीय युवाले विरोध गरेका थिए । प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको, हुलहुज्जत गरेको र मान्छेहरुलाई भड्काएको पाइएपछि तीन जना युवालाई पक्राउ गरिएको जानकारी बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले संचार माध्यमलाई दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ पुगेका बेला उल्लेखित घटना बाहेक अन्य ठूलो घटना भएको समाचार फेला परेन । यही कारण हामी दाबीसहितको सामग्रीमा देखिएको भिडियोको मूल सन्दर्भको जाँच गर्न‍ सुरु गर्‍यौँ । यही क्रममा सबैभन्दा पहिले विभिन्न सामाजिक संजालमा ‘प्रधानमन्त्री प्रचण्ड’ ‘गोली’ ‘बझाङ’ लगायतका वाक्यांशलाई सर्च गर्‍यौँ । 

किवर्ड सर्चको जतिजास्वरुप Khabar ujyalo नामक फेसबुक पेजमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यौँ । फेला परेको यो भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको दृश्याअंश एउटै देखिन्छ । तर, यो भिडियोमा प्रधानमन्त्रीमाथि गोली प्रहार भएको नभई प्रधानमन्त्रीलाई ‘गोली हान्छु’ भन्ने युवाहरू पक्राउ परेको जानकारी दिइएको छ । 

फेसबुकमा फेला परेको भिडियो र जानकारीका आधारमा हामीले जाँचलाई थप अगाडी बढायौँ । यही क्रममा हामीले गुगलमा ‘प्रधानमन्त्री बझाङ’ ‘गोली हान्छु’ ‘युवा’ लगायतका किवर्ड सर्च गर्‍यौँ । जसको नतिजास्वरुप Digital Khabar TV HD नामक युट्युब आइडीमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । दुई दिनअघि अर्थात् ६ अक्टोबर (२०२३) मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘प्रधानमन्त्री प्रचण्ड लाई गोलि हान्छु भन्दै हिने दुई युवा पक्राउ ।’  

प्रस्तुत भिडियोमा देखिएको दृश्य र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिने दृश्य एउटै छ । यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा गरिएको दाबी भ्रामक छ । बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको दाबी भ्रामक छ ।

निष्कर्ष

बझाङ जिल्लामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको दाबी कुनैपनि प्रमाणबाट पुष्टि हुँदैन । प्रधानमन्त्रीविरुद्ध नारा लगाएका र विभिन्न गतिविधि गरेका केही युवाहरुलाई प्रहरीले पक्राउ गरेपनि गोली प्रहार भएको दाबी भ्रामक छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई पक्राउ गरेको दृश्यलाई भ्रामक सन्देशसहित सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, setopati.com
समाचार, nepalkhabar.com
भिडियो, Digital Khabar TV HD


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage