दाबी: दलित सामुदाय (कामी, दमाई र सार्की) लाई मान्छे बनाउनुपर्छ भन्दा राजेन्द्र लिङ्देनले आँशु झारे ।
तथ्य: द्वन्द्वकालमा आफू विस्तापित हुनुपरेको ‘गाउँ, शुभेच्छुक, साथीसँगी फेरि जोडिन पाउँछु कि पाउँदिन भन्ने कुराले असाध्यै पीडा’ भएको बताउँदै लिङ्देन रोएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्बन्धित भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा दलित सामुदाय (कामी, दमाई र सार्की) लाई मान्छे बनाउनुपर्छ भन्दा राजेन्द्र लिङ्देन रोएको दाबी गरिएको छ ।
नन्दु रोका मगर नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रोइरहेको दृश्य देख्न सकिन्छ । साथमा पत्रकार बबिता बस्नेतसमेत देखिएकी छन् । यही भिडियोको थमनेलमा लेखिएको छ- ‘कामी, दमाई र सार्कीलाई मान्छे बनाउनुपर्छ भन्दा राजेन्द्र लिङ्देनले झारेको आँशु ।’

दलित सामुदायका थरहरुलाई संकेत गर्दै सामाजिक संजालमा फैलाइएको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले दाबीसहितको भिडियोको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणिकरण
दलित सामुदायका थरतर्फ (कामी, दमाई र सार्की) इंगित गरिएको दाबी भ्रामक रहेको पाइएको छ ।
हामीले ‘राजेन्द्र लिङ्देन’ ‘बबिता बस्नेत’ वाक्यांशलाई युट्युबमा जाँच गर्यौँ । नतिजास्वरुप Babita Basnet नामक युट्युब च्यानलमा पोस्ट गरिएको मूल भिडियो फेला पर्यो ।
३० अप्रिल २०२४ मा पोस्ट गरिएको अन्तर्वार्ता भिडियोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रोएको दृश्य देख्न सकिन्छ । तर, लिङ्देन रोएको प्रसंग भने दलित सामुदायका थरहरुसँग सम्बन्धित छैन ।
अन्तर्वार्ताका क्रममा पत्रकार बबिता बस्नेतले राजेन्द्र लिङ्देनलाई कुनैबेला कबिता लेख्ने गरेको स्मरण गराउँछिन् । साथै कुनै पूरानो कबिताको तस्बिर छ कि छैन भनेर सोध्छिन् । जसको जवाफमा लिङ्देनले हाँस्दै ‘मोबाइल उठाउँ कि जस्तो लागिराछ’ भन्छन् ।
यसपछि अध्यक्ष लिङ्देन कबिताको पृष्ठभूमि बताउँन थाल्छन्-
..कस्तो थियो भने, ठ्याक्कै त्यो ६० सालको अन्तिम दिन हुनुपर्छ । म चाहिँ धेरै दिनदेखि घर गइराखेको थिइनँ, द्वन्द्वको बेला । अनि सानो छोरो तीन वर्षको थियो । अनि ६ वर्षकी छोरी । अनि आमा, मेरो मिसेस । तीनजना मात्र । अनि मलाई त्यो सानो भको नाताले त्यो छोराले धेरै तानिराखेको थियो । म चाहिँ आज त जानुपर्यो, छोरासँग नखेलेको थुप्रैभयो, आज बेलाका चाहिँ जान्छु भनेर । मैले सारा काम हतार-हतार सकेर, साथीहरुसँग बिदा भएर घर जान भनेर हिँडेको, भद्रपुरबाट बिर्तामोडतर्फ लागेको बाटैमा यतिधेरै निदाएँ है । म बिचमा व्यवसाय पनि गर्थेँ, होटल थियो, त्यता होटलतिर जानुपर्यो, एकछिन आराम गरेर मात्र जानुपर्यो भनेर म होटलमा गएँ, त्यहाँ एक छिन् मात्र ढल्किनुपर्यो भनेको त यस्तो निदाएछु, ब्युँझिँदाखेरी त पूरै अन्धकार भैसक्याथियो । फेरि द्वन्द्वको बेला, होस् नजाने भनेर गइनँ । भोलिपल्ट बिहान त उज्यालो नहुँदैखेरी खबर आयो, माओवादीले घर चाहिँ ध्वस्त बनाए, परिवार चाहिँ सुरक्षित छन् । श्रीमति छोराछोरी चाहिँ सुरक्षित छन्, गाउँलेले राखिदिएका छन्, अरु चाहिँ केही रहेन भन्ने खबर आयो । छोराछोरी सुरक्षित छन्, परिवार सुरक्षित छन् भनेपछि मलाई कुनै त्यस्तो कुनै त्यस्तो बिस्मान भएन, दुख भएन । मैले सहजैरुपमा ठिकै छ त, द्वन्द्वको बेला छ मेरो पनि गरेछन् भन्ने हिसाबले म चाहिँ घर गएँ । द्वन्द्वको समयमा मेरो घर जलाउन संलग्न हुने मानिस नै, मेरो घर बिस्फोट गराउन संलग्न हुने मानिसहरु नै भन्छन् अध्यारोमा एउटा मोटर साइकल आयो, त्यसमा चाहिँ तपाईं आयो भन्ने निष्कर्ष भएपछि भित्र छिर्यो भन्ने खबर आयो र घेरेको हो तर तपाईं हुनुहुन्न थियोरछ भनेर भन्छन् त्यहाँ त्यतिबेला संलग्न हुने मानिसहरु कति है । अनि बिहान गएँ, गएपछि हेरेँ, घरको माथिल्लो भाग आगो लागेको, तल बमले क्षतविच्छेद भएको, कुखुराका चल्लाहरु मरिराखेको, बंगुर पालन गरेको थिएँ, त्यो बंगुरहरु चाँ-चाँ र चुँ-चुँ गरिखेको, सबै अस्तव्यस्त थियो, गाउँलेहरु रुइराखेको । अनि छोराछोरी र श्रीमतिलाई लिएर, अब लगाउने लुगा भनेको जे लगाएका थिए उनीहरुले सुत्नेबेलामा जे थियो त्यहीँ हिसाबले लिएर आएँ । त्यसबेला मलाई मेरो घर जलेको, सम्पत्ति नोक्सान भएकोमा खासै कुनै पीडा भएन । किनभने मैले सोचेँ म आउँदाखेरी केही पनि ल्याएको थिइनँ, फेरि पछि जोडिहालौँला, नभएर के भयो त ? म जस्तो कयौँ मान्छे छन् तर यो गाउँ फेरि चाहिँ…. (यत्ति भनेर अध्यक्ष लिङ्देन रुन थाल्छन्) बेस्सरी रोएँ, गाडीमा । छोरा छोरीले आशुँ पुच्छदिए । मलाई चाहिँ सम्पत्ति गएकोमा कुनै पीर थिएन । खाली मलाई यो गाउँसँग छुट्टिनुपर्यो । जुन गाउँ बन्नुमा मेरो बुवाको योगदान थियो, पछिल्लो दिनमा मैले योगदान दिइराखेको थिएँ ।
अन्तर्वार्ताको मूल अंशबाट के प्रष्ट हुन्छ भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रोइरहेको दृश्यसँग दलित सामुदायका थरहरु (कामी, दमाई र सार्की) सम्बन्धित छैनन् । द्वन्द्वकालमा आफू विस्तापित हुनुपरेको ‘गाउँ, शुभेच्छुक, साथीसँगी फेरि जोडिन पाउँछु कि पाउँदिन भन्ने कुराले असाध्यै पीडा’ भएको बताउँदै लिङ्देन रोएका हुन् ।
निष्कर्ष
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको रोदनलाई दलित थरसँग जोडिएको दाबी भ्रामक छ । एउटा अन्तर्वार्तामा द्वन्द्वकालमा आफू गाउँबाट विस्तापित हुनुपरेको सम्झँदै लिङ्देन रोएका थिए ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
युट्युब अन्तर्वार्ता, Babita Basnet।YouTube
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

