Monday, December 15, 2025

Fact Check

Fact Check: अप्रमाणित अडियो जोडेर बनाइयो भ्रामक भिडियो, ४१ अर्ब रुपैयाँका लागि प्रधानमन्त्री दुबई पुगेको दाबी

Written By Aakash Chhetri
Dec 5, 2023
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ४१ अर्ब रुपैयाँ दुबईमा रहेको र सोही पैसाका लागि प्रचण्ड दुबई पुगेको दाबी ।
तथ्य: फरक-फरक सन्दर्भका पुराना अप्रमाणित भिडियो र अडियो जोडेर ४१ अर्ब रुपैयाँका कारण प्रधानमन्त्री दुबई पुगेको दाबी गरिएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अघिल्लो साता (मंसिर १४, २०८०) संयुक्त अरब इमिरेट्स (युएई) पुगे । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री युएई पुगेका थिए । यही सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फैलिरहेको छ ।

सामाजिक संजालमा फैलिँदो भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ४१ अर्ब रुपैयाँ दुबईमा रहेको र सोही पैसाका लागि प्रचण्ड दुबई पुगेको दाबी गरिएको छ । कपिल खड्का सुर्खेत नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपालका पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा भाषण गरिरहेको अवस्थामा देखिएका छन् । 

साथै उक्त भिडियोमा ‘प्रकाण्ड’को आवाज पनि जोडिएको छ । दाबीसहितको भिडियोमा जोडिएको अडियोमा प्रकाण्डले भनेका छन्-  

‘प्रचण्डजीसँग अर्बौं-अर्ब रुपैयाँ छ, उहाँले दुबईमा राखेको ४१ अर्ब रुपैयाँ नेपालमा कसरी भित्र्याउने भन्ने ठूलो टेन्सन छ । उहाँले जिम्मा दिनुभएको छ, बामदेवजीलाई । त्यो ४१ अर्ब रुपैयाँ दुबईको बैंकमा राख्ने पैसा कहाँबाट आयो ? तपाईं हिजो माओवादी पार्टीको नेता हुने बेलामा तपाईंको परिवारलाई वर्षभरी खान पुग्दैनथ्यो । हेर्नुभाछ ? त्यो याद छ कि छैन ? कहाँबाट आयो ?’

साथै भिडियोको थमनेलमा पनि यस्तै खालको दाबी दोहोर्‍याइएको छ । थमनेलमा लेखिएको छ- ‘प्रधानमन्त्री दुबई जानुको कारण खुलाउँदै, प्रधानमन्त्री प्रचण्डको दुबईमा ४१ अर्ब रुपैयाँ भएको खुलासा, जिम्मा बामदेव गौतमलाई ।’

तीन दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा २२ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अबधिमा एक सय प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब साढे एक सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकले के प्रष्ट पार्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई पुगेको सन्दर्भमा पोस्ट गरिएका दाबी अत्यन्तै संवेदनशील देखिन्छन् । सोही कारण हामीले फेला परेका अडियो र भिडियोको वास्तविकता जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित भिडियोमा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले भाषण गरिरहेका छन् । उक्त भिडियोमा जोडिएको अडियोमा प्रधानमन्त्री प्रचण्डको दुबईका बैंकमा ४१ अर्ब रुपैयाँ जम्मा रहेको दाबी गरिएको छ । साथै सोही रकमका लागि प्रधानमन्त्री दुबई पुगेकोसमेत दाबी गरिएको छ । 

प्रस्तुत तथ्यजाँचको सुरुवातमै हामीले भिडियो र अडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । यसका लागि सबैभन्दा पहिले युट्युबमा ‘Prakanda Speech’ लगायतका वाक्यांश सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Everest Television नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो ।

प्रस्तुत भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा २०७९ कार्तिक २४ गते खिचिएको देखिन्छ । भिडियोमा देखिएको विवरण अनुसार ‘मंसिर ४ को निर्वाचन विरुद्ध भन्डाफोर सभा’मा  पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा भाषण गरेका थिए । एक वर्ष पूरानो यही भिडियोलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो ।‍

यही भिडियोको अंशलाई माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, दाबीसहितको अडियो भने यो भिडियोसँग सम्बन्धित देखिएन । त्यही कारण हामीले दाबीसहितको अडियोबारे पुन: जाँच सुरु गर्‍यौँ ।   

अडियो जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘प्रचण्ड’ ‘दुबईमा ४१ अर्ब रुपैयाँ’ लगायतका वाक्यांश सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप mirmireonline.com नामक वेबसाइटमा प्रकाशित एउटा समाचार फेला पर्‍यो । पाँच वर्षअघि अर्थात् २०७५ मंसिर ८ गते प्रकाशित उक्त समाचारमा तत्कालीन नेकपाका प्रवक्ता प्रकाण्डले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अर्बौँ रुपैयाँ विदेशी बैंकमा लुकाएको आरोप लगाएको जानकारी दिइएको छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपाका प्रवक्ता प्रकाण्डले यस्तो दाबी गरेका थिए । यही समाचारका आधारमा हामीले युट्युबमा ‘खड्गबहादुर विश्वकर्मा’ ‘प्रकाण्ड’ लगायतका वाक्यांश सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप Mobile Khabar नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । पाँच वर्षअघि अर्थात् २६ नाेभेम्बर २०१८ मा पोस्ट गरिएको भिडियोलाई हामीले जाँच गर्‍यौँ । जाँचको परिणामस्वरुप माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको अडियो अंश पाँच वर्ष पुरानो भिडियोबाट झिकिएको पाइयो ।   

फेला परेका तथ्यहरुबाट के प्रमाणित हुन्छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुबै भ्रामणका सन्दर्भमा पुराना भिडियो अंश र अडियोहरुलाई जोडेर भ्रामक सामग्री उत्पादन गरिएको छ । अर्कोतर्फ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८) सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई पुगेको आधिकारिक जानकारी सार्वजनिक भएको हो ।

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ४१ अर्ब रुपैयाँ दुबईमा रहेको दाबी कुनैपनि तथ्यबाट प्रमाणित हुन सकेन । फरक-फरक सन्दर्भका पुराना अप्रमाणित भिडियो र अडियो जोडेर ४१ अर्ब रुपैयाँका कारण प्रधानमन्त्री दुबई पुगेको दाबी गरिएको छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, annapurnapost.com
भिडियो, Everest Television
भिडियो, Mobile Khabar 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage