Saturday, December 13, 2025

Fact Check

Fact Check: चिनियाँ ब्यानरमा नेपालको चुच्चे नक्सा राखिएको हो? पढ्नुहोस् वास्तविकता  

Written By Aakash Chhetri
Sep 28, 2023
banner_image

Claim

image

Fact

image

दाबी: चीन सरकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु चुच्चे नक्सा राखेको दाबी । 
तथ्य: १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुन चीन पुगेका विभिन्न देशका प्रतिनिधिहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत भोज दिएको तस्बिरमा छेडखानी गरिएको पाइयो ।    

सामाजिक संजालमा एउटा तस्बिर द्रुत गतिमा फैलिरहेको छ । उक्त तस्बिरमा चीनका राष्ट्रपति सी चिनफिङ देखिएका छन् र उनले सम्बोधन गरिरहेका मूल ब्यानरमा नेपालको चुच्चे नक्सा अंकित गरिएको छ । साथै चीन सरकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु चुच्चे नक्सा राखेर नेपालको सार्वभौमसत्ता स्वीकार गरेको दाबी गरिएको छ ।  

पत्रकारितामा सक्रिय रहेका (हाल विदेश) Santosh Bhattarai को फेसबुक आइडीमा उक्त तस्बिर पोस्ट गरिएको छ । तस्बिरसँगै क्याप्सनमा लेखिएको छ- ‘ओलीले नेपालीलाई पढ्न नदिएर पाठ्यक्रमबाटै चुच्चे नक्सा हटाए, प्रचण्डले दुनियाँसामु सजाइदिए! अमेरिका स्थित संयुक्त राष्ट्रसंघको कार्यक्रममा क. प्रचण्ड लिम्पियाधुरा लिपुलेख कालापानी सहितको नक्साबारे जानकारी गराए । भारतले सीमा समस्या समाधान गर्छु भन्यो, चीनले प्रचण्डको सामुन्ने चुच्चे नक्सा राखेर नै नेपालको सार्वभौमसत्ता स्वीकार गरेको छ ।’

फेसबुकमा मात्रै होइन, उक्त तस्बिर टिकटकमा पनि फैलिएको छ । Mr.Prabeg Jabegu Limbu नामक टिकटक आइडीमा उक्त तस्बिरलाई भिडियोका रुपमा पोस्ट गरिएको छ । तस्बिरको थमनेलमा लेखिएको छ- ‘असल छिमेकी चीनजस्तो हुनुपर्छ, चुच्चे नक्साको मान्यता उत्तरी छिमेकीबाट प्राप्त भयो है ।’ 

साथै dongkuber, rawalpuspa लगायतका विभिन्न टिकटक आइडीमा उक्त तस्बिरलाई पोस्ट गरिएको छ । तस्बिरसँगै चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिएको दाबी गरिएको छ । चार दिनअघिबाट सामाजिक संजालमा फैलिएको उक्त तस्बिर चीन सरकारको महत्वपूर्ण समाराेहसँग सम्बन्धित रहेको देखिन्छ । किनकि उक्त तस्बिरमा चीनका राष्ट्रपति सी चिनफिङ सम्बोधन गरिरहेका छन् । 

के प्रस्तुत समाराेहको मूल ब्यानरमा चीन सरकारले चुच्चे नक्सा अंकित गरेको हो ? उक्त तस्बिरको मूल सन्दर्भ के हो ? यही प्रश्नमा केन्द्रीत रहेर हामीले तथ्यजाँच गरेका छौँ ।    

तथ्यजाँच/प्रमाणीकरण

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उतैबाट चीन भ्रमणमा गएका थिए । प्रधानमन्त्रीको चीन भ्रमणकै क्रममा नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ चुच्चे नक्सासहितको तस्बिर फैलिएको हो । उक्त तस्बिरसँगै चीन सरकारले आफ्नो ब्यानरमा चुच्चे नक्सा राखेको दाबी गरिएको छ । 

यसअघि चीनले प्रचलित नक्सा जारी गरेको थियो । अगस्ट (२०२३) अन्तिम हप्ता जारी गरिएको उक्त नक्सामा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा)लाई बेवास्ता गरिएको हो । नेपालले २०७७ जेठमा संविधान संशोधन गरेर  नयाँ राजनीतिक-प्रशासनीक नक्सा जारी गर्दै लिपुलेक-लिम्पियाधुरा क्षेत्रलाई नयाँ चुच्चे नक्सा समेटेको थियो । तर, नेपालको नयाँ चुच्चे नक्सालाई चीनले बेवास्ता गरेपछि नेपालले असन्तुष्टि व्यक्त गरेको थियो ।  

चीनले प्रचलित नक्सा जारी गरेपछिको समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका बेला छलफल हुने बताइएको थियो । यही सन्दर्भमा चीन सरकारले आफ्नो ब्यानरमा चुच्चे नक्सा राखेको दाबी गर्दै एउटा तस्बिर सामाजिक संजालमा फैलाइएको छ । जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको तस्बिरमा देखिएको समारोहको सन्दर्भ पत्ता लगाउने कोशिस गर्‍यौँ ।  

सामाजिक संजालमा फैलाइएको चुच्चे नक्सा अंकिन तस्बिरमा समारोहको नाम लेखिएको छ । यही आधारमा हामीले ‘Xi Jinping’ ‘Welcoming Banquet’ वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको परिणामस्वरुप chinadaily मा प्रकाशित एउटा समाचार फेला पर्‍यो । 

उक्त समाचारमा  चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने अतिथिहरूलाई स्वागत भोज आयोजना गरेको जानकारी दिइएको छ । 

माथि उल्लेखित दाबीसहितको तस्बिरमा देखिएको दृश्य र फेला परेको समाचारमा देखिएको तस्बिर एउटै किसिमको छ । तर, समाचारको तस्बिरमा चुच्चे नक्सा छैन । यस तथ्यबाट के प्रष्ट हुन्छ भने फरक सन्दर्भमा आयोजना गरिएको समारोहको ब्यानरमा छेडखानी गर्दै नेपालको चुच्चे नक्सा अंकित गरिएको छ । 

अर्कोतर्फ CCTV Video News Agency नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो पनि फेला परेको छ । चार दिनअघि अर्थात् २३ सेप्टेम्बर (२०२३) मा पोस्ट गरिएको भिडियोमा पनि सोही स्वागत भोजको दृश्य देख्न सकिन्छ । त्यहाँको ब्यानरमा पनि नेपालको कुनैपनि नक्सा देख्न सकिँदैन 

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपलब्धिका रुपमा प्रस्तुत गरिएको तस्बिरले भ्रामक सन्देश प्रवाह गरेको छ । उक्त तस्बिर चीन र नेपालका प्रतिनिधिबीच भएको छलफलका क्रममा खिचिएको थिएन । 

१९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु चीन पुगेका थिए, सोही क्रममा सबै देशका प्रतिनिधिलाई  सहभागी हुने अतिथिहरूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत भोज दिएका थिए । सोही भोजको तस्बिरलाई नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ भ्रामक तरिकाले प्रस्तुत गरिएको देखिन्छ । 

निष्कर्ष

चीन सरकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु चुच्चे नक्सा राखेको दाबी भ्रामक छ । फरक सन्दर्भको तस्बिरलाई इडिट गरी नेपालको चुच्चे नक्सा राखेर सामाजिक संजालमा फैलाइएको देखिन्छ । १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुन चीन पुगेका विभिन्न देशका प्रतिनिधिहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत भोज दिएको तस्बिरमा छेडखानी गरिएको पाइयो ।    

नतिजा : भ्रामक/एडिटेड

हाम्रा स्रोतहरू

समाचार, chinadaily, September 23, 2023
समाचार भिडियो, CCTV Video News Agency September 23, 2023
समाचार, nayapatrikadaily, २०८० असोज ६
समाचार, bbc, १ सेप्टेम्बर २०२३


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage