Monday, December 15, 2025

Fact Check

के यहाँ देखिएका मानिसहरू रवि लामिछानेका समर्थक हुन् ?

Written By Aakash Chhetri
Feb 7, 2023
banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त दाबीसहितको सामग्रीमा पूर्व गृहमन्त्री तथा पूर्व संचारकर्मी रवि लामिछानेका विषयमा केन्द्रीत रहेको छ देखिन्छ । 

@MR_K_a_J_i नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा मानिसहरूको ठूलो भिड देख्न सकिन्छ । उक्त सामग्रीमा थमनेल राखिएको छ र सोही थमनेलमार्फत् दाबी पेस गरिएको छ । थमनेलमा लेखिएको छ- ‘उर्लिए माइतीघर मण्डलामा रवि लामिछानेका समर्थकहरू, अदालतमा गोली चल्न बाँकि छ ।’ 

प्रस्तुत दाबीसहितको सामग्रीमा साढ‍े ३८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब दुई हजारले प्रतिक्रिया जनाइसकेको उक्त सामग्रीलाई १७ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

उस्तै खालको अर्को दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । Dipak kandel नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा पनि मानिसहरूको ठूलो भिड देख्न सकिन्छ । 

प्रस्तुत सामग्रीमा रहेको दाबीसमेत पूर्व गृहमन्त्री तथा पूर्व संचारकर्मी रवि लामिछानेका विषयमा केन्द्रीत छ । दाबीससहितको सामग्रीमा रहेको थमनेलमा लेखिएको छ- ओर्लिए रवि लामिछानेका समर्थक आज माइतीघर, सबै नेपालीले १-१ सेयर गरौँ ।’ 

प्रस्तुत दाबीसहितको सामग्रीमा साढे २२ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब एक हजार टिकटक प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेकाे देखिन्छ । माथि उल्लेखित दुईवटा दाबीसहितका सामग्रीले के प्रष्ट पार्दछन् भने मानिसको ठूलो भिड देखिने सामग्रीको फैलावट व्यापक छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेबारे गरिएका यी दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दुईवटा दाबीसहितका सामग्री लगभग एउटै किसिमका देखिन्छन् । प्रस्तुत दुबै  सामग्रीमा मानिसहरूको ठूलो भिड उर्लिएको दृश्य देख्न सकिन्छ, त्यो मानिसहरूको भिड रवि लामिछानेको समर्थनमा माइतीघर माण्डलामा उर्लिएको दाबी प्रस्तुत सामग्रीमा गरिएको छ ।

माघ १३, २०७९ मा सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलेको पूरानो नागरिकतालाई मान्यता नदिने फैसला गर्‍यो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण रविको प्रतिनिधि सभा सदस्य पद खारेज भयो । यही घटनाक्रमकै बेला माघ २२ अर्थात् आइतबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्‍यो । 

यही सेरोफेरोमा दाबीसहितका उल्लेखित सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् । दाबीसहितका सामग्रीको ढाँचालाई ध्यानमा राख्दै सबैभन्दा पहिले माइतीघर मण्डलामा उर्लिएको त्यो ठूलो भिडको दृश्यबारे जाँच गर्ने निधो गरियो ।  

यही क्रममा हामीले सबैभन्दा पहिले ‘Maitighar Mandala Mass Protest’ भन्ने अंग्रेजी वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । यो सर्चबाट माइतीघरमा भएको गुठी विधेयकविरुद्धको आन्दोलनका तस्बिरहरू फेला परे ।

२०७६ सालमा सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी विधेयकविरुद्ध काठमाडौँ उपत्यकामा चर्को आवाज उठ्यो । त्यो आन्दोलन यतिसम्म चर्क्यो कि २०७६ असार ४ गते काठमाडौँमा वृहत् विरोध जनप्रदर्शनको आयोजना गरियो । विरोध प्रदर्शन आयोजना भएसँगै तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेरै गुठी सम्बन्धी विधेयक फिर्ता लिएको घोषणा गरिन् ।

तत्कालीन मन्त्रीको विधेयक फिर्ता लिने घोषणापछि उक्त विरोध सभालाई खबरदारी सभामा परिणत गरियो । उपत्यकका तीन जिल्लाका गुठीयार माइतीघरमा ठूलो संख्यामा जम्मा भएका थिए । यही वृहत् जनप्रर्दशनको तस्बिर हामीले माथि फेला पार्‍यौँ । फेला परेको तथ्यका आधारमा हामीले ‘Protest Against Guthi Bill’ वाक्यांश तयार पार्‍यौँ र युट्युबमा सर्च गर्‍यौँ ।

सर्चको परिणास्वरुप हामीले GorakhbhumiNews नामक युट्युब च्यानलमा तीन वर्षअघि अर्थात् १६ जुन २०१९ मा पोस्ट गरिएको एउटा भिडियो फेला पार्‍यौँ । हामीले माथिनै उल्लेख गरेको गुठी विधेयक विरुद्धको प्रदर्शनका बेला  यो भिडियो खिचिएको थियो । उक्त भिडियोको शीर्षक छ-  ‘माइती घर मण्डलामा यस्ताे देखियाे गुठी विधेयक विराेधमा मानव सागर’ ।      

प्रस्तुत भिडियो र दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियो अंश एउटै होइनन् । तर दुबै भिडियो एउटै सन्दर्भ र प्रदर्शनको रहेको तथ्य हामीले फेला पारेका छन् । यसका लागि हामीले दाबीसहितको सामग्रीमा राखिएको भिडियोमा देखिएका दृश्य र तीन वर्षअघि गुठी विधेयकविरुद्ध भएको प्रदर्शनका क्रममा खिचिएका दृश्यलाई एक आपसमा जोडेर हेर्नेछौँ ।

दाबी-१

प्रस्तुत सामग्रीमा जोडिएको भिडियोमा प्रदर्शनमा कालो व्यानर देख्न सकिन्छ । साथै पछाडीको घरमा निर्माणकार्य चलिरहेको देख्न सकिन्छ । त्यसैगरी तीन वर्षअघिको गुठी आन्दोलनको दृश्यमा पनि कालो ब्यानर र पछाडी बन्दै गरेको घरको अवस्था देख्न सकिन्छ । 

दाबी-२ :

केही समयअघि मात्रै पोस्ट गरिएको यो दाबीसहितको सामग्रीमा भनिएको छ- ‘उर्लिए माइतीघर मण्डलामा रवि लामिछानेका समर्थकहरू, अदालतमा गोली चल्न बाँकि छ ।’ तर, दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्य तीन वर्षअघिको गुठी आन्दोलनको दृश्यसँग मिल्न गएको छ । कालो ब्यानर र पछाडी बन्दै गरेको घरको अवस्थाले देखाउँछ कि दुबै दृश्य एउटै समयका हुन् । 

उल्लेखित दाबीसहितका दुई दृश्य र तीन वर्षअघि भएको गुठी आन्दोलनको भिडियोमा देखिने दृश्यमा धेरै समानता देखिएका छन् । महत्वपूर्ण समानताको तुलना गर्दै दुबै दृश्य एउटै जनसभाको हो भन्ने ठाउँमा हामी उभिएका छौँ । गुठी विधेयक विरुद्धको आन्दोलनका क्रममा खिचिएको दृश्यलाई फरक सन्दर्भमा भ्रामक दाबीका साथ फैलाइएको पाइयो ।

निष्कर्ष

माइतीघर मण्डलामा ‘रवि लामिछानेका समर्थकहरूको भिड उर्लिएको र अदालतमा गोली चल्न बाँकि रहेको’ दाबी गरेका सामाजिक संजाल पोस्ट भ्रामक छन् । दाबीसहितका सामग्रीमा देखिएको दृश्य रवि लामिछानेका समर्थकको होइन्, त्यो तीन वर्ष पहिले भएको गुठी आन्दोलनको दृश्य हो ।    

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage