दाबी: सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरेको दाबी ।
तथ्य: सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद अहिलेसम्म फुकुवा गरेका छैनन् ।
रवि लामिछानेसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिहेको छ । उक्त सामग्रीमा सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरेको दाबी गरिएको छ ।
Dammar Saud नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा समाचार जस्तो सामग्री देख्न सकिन्छ । २ फेब्रअरी २०२५ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा ‘रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा’ भएको दाबी गर्ने वाक्यांश लेखिएको छ ।
साथै समाचार बुलेटिनको सुरुमै भनिएको छ- ‘अन्तत: रवि लामिछानेको निलम्बित पद फुकुवा । सभामुख देवराज घिमिरेले दिए रवि लामिछानेलाई निलम्बित गरिएको पदबाट फुकुवा हुने अनुमति ।’

दाबीसहितको सामग्रीलाई छिटो अवधिमै १ लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् । यही अवधिमा ७ हजारले लाइक गरेको भिडियो सामाजिक संजालमा फैलिरहेको छ ।
त्यस्तै लाक्पा शेर्पा नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको सामग्री पोस्ट गरिएको छ । २ फेब्रुअरी २०२५ मा पोस्ट गरिएको भिडियोको थमनेलमा रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरिएको वाक्यांक लेखिएको छ ।
पोस्ट गरिएको केही घण्टामै दाबीसहितको भिडियोलाई हजारौँले हेरिसकेका छन् । त्यस्तै सोही ३ हजार ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

प्रस्तुत फैलावटको तथ्यांकले भने देखाउँछ भने रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा भएको दाबी सामाजिक संजालमा व्यापक फैलिरहेको छ । यो दाबी आगामी दिनमा झनै फैलिने देखिन्छ ।
के सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरेका हुन् त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेविरुद्ध न्यायालयमा सम्पत्ति शुद्धीकरण लगायतका कसुरमा अभियोगपत्र दर्ता भएपछि उनी सांसद पदबाट निलम्बनमा परेका थिए । यसअघि लामिछानेविरुद्ध सहकारी संस्थाको बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र दायर भएको थियो ।

संसद् सचिवालयले ८ पुस २०८१ मा जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकाले सो कानूनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यही सन्दर्भमा सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । जाँचका लागि हामीले संघीय संसद्को प्रतिनिधि सभाका प्रवक्ता एकराम गिरीलाई सम्पर्क गर्यौँ र उनलाई दाबीसहितको भिडियो पठायौँ ।
भिडियो हेरेपछि प्रवक्ता गिरीले रवि लामिछानेको निलम्बित पद फुकुवा भएको दाबी सही नभएको बताए । उनका अनुसार प्रतिनिधि सभाले रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरेको छैन । प्रवक्ता गिरीले भन्नुभयो- ‘निलम्बन फुकुवाको मागसहित निवेदन भएको छ तर त्यसमाथि कुनै निर्णय भएको छैन ।’

१८ माघ २०८१ मा रवि लामिछानेले निलम्बित सांसद पद फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका थिए । आफू पुर्पक्षका लागि थुनामा नरहेकाले सांसद पद निलम्बन नहुने पनि लामिछानेको जिकिर थियो । यही सन्दर्भमा सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरेको गलत दाबी सामाजिक संजालमा फैलाइएको देखियो ।
निष्कर्ष
सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद अहिलेसम्म फुकुवा गरेका छैनन् । रवि लामिछानेले आफ्नो निलम्बित सांसद पद फुकुवा गरिदिन आग्रह गरेको सत्य हो । यद्यपी यही जानकारीलाई आधार बनाएर लामिछानेको सांसद पद फुकुवा भएको गलत दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
एकराम गिरी, प्रवक्ता, प्रतिनिधि सभा
समाचार, bbc.com/nepali
समाचार, onlinekhabar.com
समाचार, himalkhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।



