Saturday, December 13, 2025

Fact Check

अदालतको फैसलाकै तथ्यमा तोडमोड, पल शाहलाई रिहा गर्ने फैसला भएको हो ? 

Written By Aakash Chhetri
Jan 18, 2023
banner_image

Claim

image

Fact

image

अभिनेता पल शाह (पूर्णविक्रम शाह)सँग सम्बन्धित विभिन्न दाबीसहितका सामग्री बेला-बेला सामाजिक संजालमा भेटिने गरेका छन् । नेपालमा परिचित बालिका गायिकासँग यौन सम्बन्ध कायम गरेको आरोप खेपिरहेका पल शाहबारे पुन: चर्चा सुरु भएको छ ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगका अभियुक्त पल शाहलाई मंगलबार (माघ ३, २०७९) तनहुँ जिल्ला अदालतले सफाई दियो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाई दिएको हो ।

जिल्ला अदालतले गरेको फैसलाकाे यही सेरोफेरोमा पल शाहको विषयमा तयार पारिका सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् । पल शाहले सफाई भएसँगै उनी जेलमुक्त भएको दाबी गर्ने सामग्रीहरू पुन: सामाजिक संजालमा भेटिएका छन् ।

Nishesh Khatiwada नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा पल शाहको तस्बिर जोडिएको छ । उक्त तस्बिरसँगै लेखिएको स्ट्याटसमा जिल्ला अदालत तनहुँले पल शाहलाई सफाई दिँदै सम्मान स्वरुप रिहा गर्न आदेश दिएको दाबी गरिएको छ ।

दाबीसहितको स्ट्याटसमा लेखिएको छ- ‘खुसीको खबर सबैले एक एक सेयर गरौँ । जिल्ला अदालत तनहुँले पल शाह लाई सफाई दिँदै सम्मान स्वरुप रिहा गर्न आदेश दिएको छ ।’ 

प्रस्तुत सामग्रीमा करिब ९ सय फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । ८० भन्दा बढी फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई ३५ भन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

त्यस्तै Sahima Shrestha नामक फेसबुक पेजमा पनि पल शाहको सोही तस्बिर जोडिएको देखिन्छ । यो सामग्रीमा पनि उसैगरी पल शाहलाई रिहा गर्न आदेश दिइएको दाबी गरिएको छ । प्रस्तुत सामग्रीको स्ट्याटसमा लेखिएको छ- ‘खुसीको खबर, जिल्ला अदालत तनहुँले पल शाहलाई सफाई दिँदै सम्मान श्वरुप रिहा गर्न आदेश दिएको छ ।’

दाबीसहितको यो सामग्रीमा १७ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् भने उक्त सामग्रीलाई २० भन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीको फैलावट फेसबुकमा व्यापक रहेको छ ।

यतिमात्र होइन, पल शाह रिहा भएको दाबीसहितका सामग्रीहरू टिकटकमा पनि फैलिएका छन् । paulshahfanofficial11 नामक टिकटक आइडीमा पल शाहका फ्यानहरूले खुसीयाली मनाइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा जिल्ला अदालत तनहुँले पल शाहलाई रिहाई गरेको दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा राखिएको थमनेलमा लेखिएको छ- ‘आज तनहुँ जिल्ला अदालतले पल शाहलाई दियो न्यायपूर्ण रिहाई ।’   

प्रस्तुत दाबीसहितका सामग्री सरसर्ती हेर्दा सन्दर्भ फरक देखिएको छ । न्यायपालिकाको फैसलाकै विषयमा दाबीहरू पेस गरिएकाले हामीले प्रस्तुत सामग्रीको तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

बालिकालाई बलात्कार गरेको आरोपसहित पल शाहविरुद्ध उजुरी परेपछि २०७८ फागुन १५ गते उनलाई हिरासतमा लिइएको थियो । हिरासतको अनुसन्धानपछि पल शाहलाई चैत्र १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा (न्यायिक हिरासत) पठाउने आदेश गरेको हो । 

त्यसपछि २०७९ भदौ २१ गते नवलपुर जिल्ला अदालतले पल शाहलाई बाल यौन दुरूपयाेग कसुरमा साढे २ वर्ष कैद सजाय दिएको थियो । तर, जबरजस्तीकरणीको मुद्दामा भने उनले सफाई पाएका थिए । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले यो फैसला गरेको थियो ।

नवलपुर जिल्ला अदालतको आदेशपछि पल शाहले जिल्ला कारागार तनहुँमा कैदी जीवन बिताइरहेका थिए । यही सेरोफेरोमा मंगलबार तनहुँ जिल्ला अदालतले पल शाहलाई सफाई दिने फैसला गरेको हो । उक्त फैसलासँगै सामाजिक संजालमा पल शाहलाई रिहा आदेश भएको दाबी गरिएको छ । 

जिल्ला अदालत तनहुँले गरेको फैसलाको संक्षिप्त विवरण यो सामग्री तयार पार्दासम्म सार्वजनिक भएको छैन । तर, पल शाहलाई जिल्ला अदालतले रिहाई भने गरेको होइन । तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मिनबहादुर कुँवरका अनुसार जबर्जस्ती करणीको अभियोग पल शाहलाई सफाई दिइएको छ ।

यसअघि नवलपुर जिल्ला अदालतले पनि पल शाहलाई जबर्जस्ती करणीको अभियोगमा सफाई दिएको थियो । तर, बाल यौन दुरूपयाेग कसुरमा भने २ वर्ष ६ महिना कैद र क्षतिपूर्ति बापत १० लाख रुपैयाँ जरिवाना तोकेको थियो । 

प्रस्तुत तथ्यलाई प्रारम्भिक तवरले हेर्ने हो भने जबर्जस्ती करणीको अभियोगमा नवलपुर र तनहुँ जिल्ला अदालतकाे फैसला एकै प्रकृतिको देखिन्छ । तर, तनहुँ जिल्ला अदालतले दिएको फैसलामा यौन दुरूपयाेग कसुरबारे के बोलिएको छ भन्ने कुरा पुष्टि हुँदैन । यसलाई पुष्टि गर्न फैसलाको संक्षिप्त तथा पूर्ण विवरण पर्खनैपर्ने हुन्छ ।

नवलपुर जिल्ला अदालतकाे फैसलाका कारण पल शाह तनहुँ कारागारमै रहने तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मिनबहादुर कुँवरले संचार माध्यमलाई जानकारी दिएका छन् । इकान्तिपुरमा प्रकाशित समाचारमा श्रेस्तेदार कुँवरलाई उदृत गर्दै भनिएको छ- ‘सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएकोमा नवलपुर अदालतले शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने श्रेस्तेदार कुँवरले बताए ।’

अर्कोतर्फ जबर्जस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतले दिएको फैसलाका सम्बन्धमा सरकारी वकिल कार्यालय तनहुँले उच्च अदालत पोखरामा पुनरावेदन दिने जानकारी दिएकाे छ । तनहुँका जिल्ला न्यायाधिवक्ता गोविन्दप्रसाद उपाध्यायले सेतोपाटीलाई दिएको अन्तर्वार्तामा भनेका छन्- ‘पल शाहले सफाइ पाएको मिडियाबाट थाहा पाएँ, सामान्यतया अब हामी उच्च अदालतमा पुनरावेदन गर्छौं ।’ 

यी सबै तथ्यलाई मसिनोगरी हेर्ने हो भने पल शाहलाई रिहा गर्न अदालतले आदेश नदिएको प्रष्ट हुन्छ । यसको अर्थ हुन्छ पल शाह तनहुँ जिल्ला कारागारबाट रिहा भएका छैनन् । 

निष्कर्ष : 

तनहुँ जिल्ला अदालतले पल शाहलाई ‘सफाई दिँदै सम्मान स्वरुप रिहा गर्न आदेश’ दिएको दाबी पूर्णत: भ्रामक छ । अदालतले जबर्जस्ती करणीको अभियोगमा पल शाहलाई सफाई दिएपनि रिहा गर्न आदेश दिएको पुष्टि हुँदैन ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Himalkhabar

Setopati

Ekantipur


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage