Thursday, December 11, 2025

Fact Check

पल शाह छुटेको दाबी, पुरानो भिडियोलाई तोडमोड गरेर भनियो ‘फ्यानहरूको स्वागत’

Written By Aakash Chhetri
Jun 22, 2022
banner_image

Claim

image

Fact

image

बालिकासँग यौन सम्बन्ध कायम गरेको आरोप लागेका (कानुनत: बलात्कार आरोपी) चर्चित अभिनेता पल शाह (पूर्णविक्रम शाह)सँग सम्बन्धित विभिन्न दाबीसहितका सामग्री समय समयमा सामाजिक संजालमा फैलिने गरेका छन् । यही क्रममा सामाजिक संजालमा फैलाइएको दाबीसहितको अर्को सामग्री न्युजचेकरले फेला पारेको छ । 

Updatenepal नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा पल शाहको जीत भएको र उनी कारागारमुक्त भएको दाबी गरिएको छ । उक्त दाबीसहितको सामग्रीमा केही मानिसहरूले पल शाहलाई स्वागत गरिरहेको दृश्यसमेत देखिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘Finally, सत्यको जीत भएरै छाड्यो, छुटे पल शाह, स्वागत गर्ने फ्यानहरूको भिड।’

एक दिनअघि अर्थात जुन २१ मा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा करिब २० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने एक सयभन्दा बढी टिकटक प्रयोगकर्ता दाबीसहितको भिडियोलाई सेयर गरिसकेका छन् । 

यसअघि पनि पल शाह र उनीसँग सम्बन्धित दाबीसहितका केही भिडियो सामाजिक संजालमा फैलिएका थिए । न्युजचेकरले फेला परेका ती सामग्रीमा पनि बलात्कार आरोपी पल शाह रिहा भएको लगायतका दाबी गरिएको थियो । तर, न्युजचेकरले गरेकाे तथ्यजाँचमा सो दाबी गलत र भ्रामक रहेको पुष्टि भयो ।


पल शाह जेलमुक्त भएका छैनन्, कारागारबाटै लाइभ बसेको गलत दाबी


सामाजिक संजालमा अहिले र यसअघि फैलिएका दाबीहरुमा केही समान्ता रहेकाले हामीले अघिल्लो तथ्यजाँचका विषयमा यहाँ जिकिर गर्‍यौँ । पहिलेजस्तै अहिले पनि आम सामाजिक संजाल प्रयोगकर्ताले दाबीको वास्तविकता जान्न चाहेकाले यसपटक पनि हामीले प्रस्तुत दाबीमाथि जाँच गर्ने जमर्को गर्‍यौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

बलात्कारको आरोप लागेपछि २०७८ चैत १६ गते तनहुँ जिल्ला अदालतको आदेशले पल शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । पछिल्लो समय पल शाहमाथि न्यायिक हिरासतबाटै अनुसन्धान भइरहेको छ । यही विषयमा नेपाली सामाजिक संजाल प्रयोगकर्ताले पनि चर्चा परिचर्चा गरिरहेका छन् । यही सेरोफेरोमा पल शाहको विषयमा तयार पारिका सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् ।

यही क्रममा पल शाह जेलमुक्त भएको दाबीसहितका सामग्री सामाजिक संजालमा भेटिएका छन् । दाबीसहितको सामग्रीमा पल शाहलाई स्वागत गरिएको दृश्य पनि देखाइएको छ । त्यसैकारण हामीले सबैभन्दा पहिले पल शाहलाई स्वागत गरिएको दृश्यबारे जाँच गर्ने निधो गर्‍यौँ ।  

भिडियोमा पल शाह आडीमा सवार देखिन्छन् र उनलाई कसैले स्वागत गरिरहेको दृश्य पनि त्यहाँ देखिएको छ । भिडियोको एउटा कुनामा क्यानडा नेपाल नामक युट्युब च्यानललाई संकेत दिने अंग्रेजी अक्षर देखिएको छ । यसैलाई आधार मान्दै हामीले युट्युबमा ‘पल शाह canada nepal’ लगायतका वाक्यांश सर्च गर्‍यौँ र केही समयको खोजीपछि हामीले मूल भिडियो फेला पार्‍यौँ ।

Canada Nepal मा ९ जुलाई २०१९ मा उक्त मूल भिडियो पोस्ट गरिएको छ । भिडियोको शीर्षक राखिएको छ- ‘Modern college मा पल पुग्दा यस्तो माहोल, केटिहरूले नछोड्दा गरे आचल सग बिहेको माग’ । तीन वर्षअघि पोस्ट गरिएको यो भिडियोले के प्रष्ट पार्छ भने पल शाहको यो दृश्यलाई टिकटकमा भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । पल शाह जेलमुक्त भए भनेर फरक सन्दर्भको भिडियो प्रयोग गरिएको छ ।

अब कुरा रह्यो, पल शाह जेलमुक्त भएको । तर, पल शाह जेलमुक्त भएका छैनन्। पछिल्लो समय पल शाहको मुद्दा उच्च अदालत पोखरामा पुगेको छ । Ekantipur का अनुसार १९ जेठ गते कलाकार पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको थियो । यसअघि शाहलाई जिल्ला अदालतले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए ।

Onlinekhabar का अनुसार जिल्लाको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत पोखरा गएका थिए । उनले आफूलाई साधारण तारिखमा राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरेका थिए । तर, न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको इजलासले जिल्लाको आदेश सदर गरेका थिए । 

यो तथ्यले के प्रष्ट हुन्छ भने पल शाह जेलमुक्त भएका छैनन् ।

निष्कर्ष

माथिका सामग्रीमा दाबी गरेजस्तो पल शाह न्यायिक हिरासतबाट रिहा भएका छैनन् । फरक सन्दर्भका पुराना दृश्यहरूलाई जोडेर पल शाह जेलमुक्त भएको भन्दै भ्रामक र असत्य सूचना सामाजिक संजालमा फैलाइएको छ ।

नतिजा : असत्य/भ्रामक

हाम्रा स्रोतहरू 

 Ekantipur

Onlinekhabar

Canada Nepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage