Tuesday, December 16, 2025

Fact Check

चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ बनेको कहाँ हो ? भारतद्वारा अतिक्रमित क्षेत्रमा बनेको दाबी

Written By Aakash Chhetri
Oct 9, 2022
banner_image

Claim

image

Fact

image

पछिल्लो साता सामाजिक संजालमा पोस्ट गरिएको एउटा दाबीसहितको सामग्री भेटियो । उक्त सामग्रीमा नेपाली राष्ट्रपति विद्यदेवी भण्डारी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर, नेपालको नक्सा र एउटा स्तम्भ सहितको दृश्य देख्न सकिन्छ । यी सामग्री जोडिएको सामग्रीमा भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रमा राष्ट्रपति भण्डारी जान लागेको दाबी गरिएको छ ।

Reshurajeshbist55 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा अडियो जोडिएको छ र सोही अडियोमार्फत् दाबी पेश गरिएको सुनिन्छ । प्रस्तुत अडियोमा भारतले अतिक्रमण गरेको कालापानीमा नेपालले चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ बनाएकोसमेत दाबी गरिएको छ ।   

अडियोमा भनिएको छ– ‘भारतले अतिक्रमण गरेको कालापानीमा बन्यो चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ, उद्‍घाटन गर्न राष्ट्रपति भण्डारी कालापानी जाने।’

एक हप्ताअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ३५ भन्दा पढी प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् । 

प्रस्तुत दाबीसहितको सामाग्रीको फैलावट व्यापक नभएपनि यहाँ रहेको विषय गम्भीर छ । के भारतले अतिक्रमण गरेको कालापानीमा नेपालले चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण गरेको हो त ? हामीले उल्लेखित दाबीसहितको सामग्रीको जाँच गर्ने जमर्को गरेका छौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहितको सामग्रीमा ‘भारतले अतिक्रमण गरेको कालापानीमा’ नेपालले चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ बनाएको भनिएको छ । हामीले प्रस्तुत दाबीमा जाँच सुरु गर्दा सबैभन्दा पहिले उक्त सामग्रीको मूल अंश पत्ता लगाउन चाह्यौँ । किनकि उक्त सामग्रीको अडियो समाचार शैलीमा तयार पारिएको छ र कुनै समाचारको अंश टिकटकमा पोस्ट गरिएको जस्तो सुनिन्छ । 

हामीले युट्युबमा गएर ‘राष्ट्रपति भण्डारी’ ‘कालापानी’ लगायतका विभिन्न किवर्ड सर्च गर्दा केही नतिजा निस्किए । जसमध्येको एउटा नतिजा टिकटकमा फैलिएको दाबीसहितको सामग्रीको मूल अंश थियो । Greater Nepal TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त सामग्रीको शीर्षक छ- ‘राष्ट्रपति भण्डारी कालापानी जाँदै भारतमा तरङ्ग’ । सरसर्ती हेर्दा २ अक्टोबर २०२२ मा पोस्ट गरिएको उक्त सामग्री प्रस्तुती सनसनीपूर्ण ढंग देखियो ।

प्रस्तुत युट्युब च्यानलका अन्य उत्पादन नियालेपछि हामीलाई उक्त च्यानल भरपर्दो लागेन । यही कारण युट्युब भिडियोमा दिइएको जानकारीका आधारमा हामीले भरपर्दो स्रोतको खोजी थाल्यौँ । यसका लागि हामीले गुगलमा ‘कालापानी’ ‘चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ’ ‘राष्ट्रपति’  ‘उद्घाटन’ लगायतका किवर्ड सर्च गर्‍यौँ ।

फलस्वरुप हामीले नेपाली संचार माध्यममा छापिएका एउटा समाचार फेला पार्‍यौँ । २०७९ असोज १५ गते भिडियोसहित प्रकाशित उक्त समाचारमा अतिक्रमित भूमिसँग जोडिएको दार्चुलाको ब्यास गाउँपालिकाले राष्ट्रिय स्तम्भ निर्माण गरेको र उक्त स्तम्भको उद्घाटन राष्ट्र प्रमुखबाटै गराइने जानकारी दिइएको छ । 

उक्त समाचारको एक अंशमा भनिएको छ- ‘ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा निर्माण भएको स्तम्भ उद्घाटनका लागि असोज २७ गते राष्ट्रपति भण्डारी दार्चुला जाने राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।’ 

माथि उल्लेखित दाबीसहितको सामग्रीमा ‘भारतले अतिक्रमण गरेको कालापानीमा चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ बनाइएको’ भनिएको छ । तर, संचार माध्यममा प्रकाशित समाचारमा भने उक्त राष्ट्रिय स्तम्भ ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा निर्माण भएको जानकारी दिइएको छ । प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने उक्त राष्ट्रिय स्तम्भ भारतीय अतिक्रमित क्षेत्रमा होइन, नेपालकै प्रशासनिक क्षेत्रमा निर्माण गरिएको छ । 

तर, हामी यत्तिमै विश्वस्त भएनौँ । हामीले अर्को दोस्रो स्रोतकोसमेत खोजी थाल्यौँ । जाँचकै क्रममा हामीले गुगल किवर्ड सर्चबाट अर्को समाचार फेला पायौँ । नयाँ पत्रिकामा प्रकाशित उक्त समाचारको शीर्षक छ – व्याँसको छाङ्गरुमा बन्यो ‘चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ’ ।

माथिको समाचारभन्दा थोरै विस्तृत रहेको उक्त समाचारको माथिल्लो अंश यस्तो छ- 

दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुमा चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ निर्माण गरिएको छ । व्याँस गाउँपालिकाले पहिलोपटक कालापानीनजिकैको भूमिमा चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ निर्माण गरेको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ७ जेठ ०७७ मा पहिलोपटक भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । सोही नक्सालाई समेटेर गाउँपालिकाले स्तम्भ निर्माण गरेको हो । ऐतिहासिक महत्व बोकेको कालापानीनजिकै २३ फिट उचाइको राष्ट्रियस्तम्भ निर्माण गरिएको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । राष्ट्रियस्तम्भ वरिपरि घेरपर्खाल लगाइएको छ । कुल १५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्तम्भको राष्ट्र प्रमुखबाटै उद्घाटन गर्ने तयारी छ । कालापानी क्षेत्रनजिकै बनेको सो स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी २७ असोजमा आउने तयारी भएको अध्यक्ष धामीले जानकारी दिए । ‘भारतीय क्षेत्रबाटसमेत देखिने गरी स्तम्भ ठड्याइएको छ । सीमा क्षेत्रका नागरिकले गर्व गर्ने गरी स्तम्भ निर्माण गरिएको हो,’ अध्यक्ष धामीले भने । व्यास गाउँ कार्यपालिकाको ९ साउनमा बसेको बैठकले राष्ट्रपति भण्डारीलाई व्याँस भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । सोहीअनुसार गाउँपालिका अध्यक्ष धामी नेतृत्वको टोलीले अतिक्रमित क्षेत्रनजिकै निर्माण गरिएको स्तम्भको उद्घाटनको लागि राष्ट्रपतिलाई निम्तो दिन काठमाडौँ गएका थिए । दुईपटक राष्ट्रपति भण्डारीलाई भेटेर उद्घाटनको लागि निम्तो दिइएको हो ।

यत्ति तथ्य भेटिएपछि हामी ब्यास गाउँपालिकाको भौगोलिक र प्रशासनिक क्षेत्रबारे जाँच गर्ने निधो गर्‍यौँ । तर, गाउँपालिकाको वेबसाइट vyansmun.gov.np मा नक्सा नै भेटिएन । त्यसपछि हामीले गुगल म्यापको सहायता लियौँ । किनकि नेपालको राजनीतिक-प्रशासनिक नक्सामा समेटिएको भारतद्वारा अतिक्रमित क्षेत्रलाई गुगल म्यामले सांकेतिक चिन्ह लगाएको छ ।

गुगल म्यापमा ब्यास गाउँपालिकाको क्षेत्र र भारतले अतिक्रमण गरेको क्षेत्रलाई छुट्याएको छ । समाचारमा दिइएको विवरण र गुगल म्याप हेर्नेहो भने के प्रष्ट हुन्छ भने चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण भएको तथा राष्ट्रपति जान लागेको ठाउँ नेपालकै प्रशासित क्षेत्र हो । भारतले अतिक्रमण गरेको भूमिमा राष्ट्रपति जान लागेकी होइनन् र त्यहाँ नेपालले चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण गरेको पनि होइन ।  

यसर्थ, भारतले अतिक्रमण गरेको कालापानीमा चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण भएको भन्ने दाबी भ्रामक छ ।

निष्कर्ष

दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरुमा चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ निर्माण गरिएको छ । भारतले अतिक्रमण गरेको कालापानीमा चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण भएको छैन । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी जान लागेको ठाउँ पनि नेपालद्वारा प्रशासित क्षेत्र हो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Nayapatrikadaily

Vyansmun.gov.np

Nepalpress


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage