Monday, December 15, 2025

Fact Check

Fact Check: माओवादीको केन्द्रीय समितिमा प्रचण्डविरुद्ध नाराबाजी भएको भ्रामक दाबी 

banner_image

Claim

image

Fact

image

दाबी: नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी भएको छ ।
तथ्य: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विरोध प्रदर्शनको अडियोलाई माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको भिडियोमा जोडेर भ्रामक
सामग्री तयार पारिएको पाइयो । 

सामाजकि संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी भएको दाबी गरिएको छ । 

Neuson.Magar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले नारा लगाइरहेको दृश्य देख्न सकिन्छ । नाराबाजीकै कारण बैठक अवरुद्ध भएको दाबी पनि भिडियोमा गरिएको छ । भिडियोसँगै जोडिएको थमनेलमा लेखिएको छ- ‘माओवादी केन्द्रीय समिति बैठकमै प्रचण्ड विरुद्ध नाराबाजी लगाए, बैठक अवरुद्ध ।’ 

त्यस्तै भिडियोमा एउटा अडियो पनि सुन्न सकिन्छ । अस्पष्ट अडियोमा ‘प्रचण्ड तेरो पाराले, दुख पाए साराले’ भन्ने नारा लगाइएको छ । २० घण्टाअघि मात्रै पोस्ट गरिएको दाबीसहितको सामग्रीको फैलावट व्यापक देखिन्छ ।

पोस्ट भएको छोटो समयमै दाबीसहितको भिडियोमा करिब दुई हजारभन्दा टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । एक सय ३० भन्दा बढी प्रतिक्रिया आइसकेको भिडियोलाई एक सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । फैलावटको यो गतिले प्रस्तुत दाबीसहितको सामग्री आगामी दिनमा झनै फैलिनसक्ने देखिएको छ । 

तथ्यजाँच/प्रमाणीकरण

श्रावण १७ (२०८०) गतेबाट सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको थियो । श्रावण २१ गतेसम्म चार दिन चलेको उक्त बैठक काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको हो । गत पुष (२०७९) मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पहिलो पटक डाकिएको हो ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी भएको दाबी गरिएको छ । यस दाबीबारे जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । दाबीसहितको भिडियोमा नेपाल प्रेस नामक संचार माध्यमको लोगो पनि देख्न सकिन्छ ।

Nepalpress नामक युट्युब च्यानलमा गएर भिडियोहरूलाई सरसर्ती नियाल्यौँ । यही क्रममा ‘माओवादी बैठक समापनमा गुन्जियो नारा–श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड ! लाल सलाम लाल सलाम’ शीर्षकको भिडियो फेला पर्‍यो । एक दिनअघि अर्थात् ६ अगस्टमा पोस्ट गरिएको भिडियोमा माओवादी केन्द्रका पदाधिकारीहरूले केही नाराहरु लगाइरहेका छन् । तर, यी नारामध्ये कुनैपनि नारा प्रचण्डविरोधी छैनन् ।

फेला परेको भिडियोमा लगाइएका नाराहरु यस्ता छन्- ‘नेकपा माओवादी केन्द्र जिन्दावाद् !’ ‘मार्क्सवाद, लेनिनवाद, मा‌ओवाद जिन्दावाद !’ ‘समाजवाद जिन्दावाद !’ ‘सबैखाले प्रतिक्रियावाद मुर्दावाद !’ ‘महान अमर शहिदहरु लालसलाम !’  ‘श्रद्देय अध्यक्ष कमरेड प्रचण्ड लालसलाम !’  

फेला परेको मूल भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कुनै नाराबाजी भएको देखिँदैन । यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा जोडिएको ‘प्रचण्ड तेरो पाराले, दुख पाए साराले’ भन्ने नारा फरक सन्दर्भको अडियो हो ।

प्रस्तुत तथ्य खुलेपछि हामीले ‘प्रचण्ड तेरो पाराले, दुख पाए साराले’ भन्ने नाराको वास्तविकता पत्ता लगाउनतिर लाग्यौँ ।  यही क्रममा Onlinetv Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । यो भिडियोमा माथि उल्लेखित प्रचण्ड विरोधी नारा सुन्न सकिन्छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक चलिरहेका बेला श्रावण २० (२०८०) प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले गाईभैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रण, सहकारी पीडितको माग सम्बोधन तथा सुन प्रकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।  

काठमाडौँको नयाँ बानेश्वरमा आयोजित सोही विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेका थिए । सोही नाराबाजीका क्रममा  ‘प्रचण्ड तेरो पाराले, दुख पाए साराले’ भन्ने नारा पनि लागेको थियो । यही विरोध प्रदर्शनको अडियोलाई काँटछाँटगरी भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको देखिन्छ । 

निष्कर्ष

सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कुनै नाराबाजी भएको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विरोध प्रदर्शनको अडियोलाई माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको भिडियोमा जोडेर भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

Ekantipur
Nepalpress
Kantipurtv
Onlinetv Nepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage