दाबी: गृहमन्त्री नारायणकाजी श्रेष्ठले रबि लामिछानेलाई सम्बोधन गर्दै ‘चौधरीलाई जेल कोच्ने’ प्रतिवद्धता गरेको र केपी शर्मा ओलीलाई तस्करको नाइकेसँग जोडेको दाबी ।
तथ्य: गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गरेको भिडियोमा फरक-फरक सन्दर्भका दृश्यांश जोडेर सोही आधारमा भ्रामक दाबी गरिएको पाइयो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सम्बन्धित एउटा भिडियो पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा गृहमन्त्री श्रेष्ठले रबि लामिछानेलाई सम्बोधन गर्दै ‘चौधरीलाई जेल कोच्ने’ प्रतिवद्धता गरेको र केपी शर्मा ओलीलाई तस्करको नाइकेसँग जोडेको दाबी गरिएको छ ।
Nirajkarkii25 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेको दृश्य जोडिएको छ । उक्त भिडियोमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रबि लामिछाने लगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ ।
साथै दाबीसहितको भिडियोमा नेपालका अन्य पूर्व पूर्वप्रधानमन्त्री एवं राजनीतिज्ञ देखिएका दृश्यहरु जोडिएको छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘रबि जी, म मर्छु तर चौधरीलाई जेल नकोची छोड्दिन, ओलीजी तस्करका नाइके नहुनु ज ।’
दुई दिनअघि पोस्ट गरिएको दाबीसहितको पोस्टमा करिब तीन हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ६० भन्दा बढी प्रतिक्रिया आइसकेको उक्त भिडियोलाई करिब ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

प्रस्तुत तथ्यांकले उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको पुष्टि गर्दछ । त्यस्तैले प्रस्तुत संवेदनशील दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित भिडियोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रबि लामिछानेलाई सम्बोधन गर्दै ‘चौधरीलाई जेल कोच्ने’ प्रतिवद्धता गरेको र केपी शर्मा ओलीलाई तस्करको नाइकेसँग जोडेको दाबी गरिएको छ ।
जाँचका क्रममा हामीले दाबीसहितको भिडियोलाई पुन: राम्ररी नियाल्यौँ । यही क्रममा हाम्रो नजर भिडियोमा देखिएको लोगोमा गयो । भिडियोमा देखिने लोगोमा ‘खोजीनीति खबर’ लेखिएकाले यही आधारमा हामीले युट्युबमा ‘Khojniti Khabar’ सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Khojniti Khabar युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । १० फेब्रुअरी २०२४ मा पोस्ट गरिएको यही भिडियोको अंश नै टिकटक जस्ता सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
यहाँसम्मको जाँचमा तथ्य प्रमाणहरुले दाबीलाई प्रमाणित वा अप्रमाणित गर्न सकेनन् । त्यसैले फेला परेका तथ्यका आधारमा हामीले जाँचलाई अगाडि बढायौँ ।
भिडियोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागसँग केन्द्रीत गर्दै केही भनाईहरु राखेको सुन्न सकिन्छ । यही आधारमा हामीले जाँच गर्दा २६ माघ २०८० मा प्रकाशित समाचार फेला पर्यो । अध्यागमन विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टहरूलाई समात्दा सम्बन्धित संस्थाहरूले वक्तव्यबाजी गर्ने र दलका नेताहरूले दबाव दिने गरेको बताउँदै त्यस्तो काम बन्द गर्न आग्रह गरेको जानकारी उक्त समाचारमा दिइएको छ ।
यही क्रममा ९ फेब्रुअरी २०२४ मा Setopati युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । यो भिडियोमा माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएजस्तो दृश्यहरु छैनन् ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने गृहमन्त्रीले सम्बोधन गरेको मूल भिडियोमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रबि लामिछाने लगायतका व्यक्तिहरु देखिने दृश्य (फुटेज) जोडेर वास्तविक जस्तै देखिने फरक भिडियो तयार पारिएको देखिन्छ ।
निष्कर्ष
गृहमन्त्री श्रेष्ठले रबि लामिछानेलाई सम्बोधन गर्दै ‘चौधरीलाई जेल कोच्ने’ प्रतिवद्धता गरेको र केपी शर्मा ओलीलाई तस्करको नाइकेसँग जोडेको दाबी भ्रामक छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गरेको भिडियोमा फरक-फरक सन्दर्भका दृश्यांश जोडेर सोही आधारमा सामाजिक संजालमा भ्रामक दाबी पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, setopati.com
भिडियो, Setopati
भिडियो, Khojniti Khabar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


