Thursday, December 11, 2025

Fact Check

सात वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो, दोलखामा भूकम्प गएको दाबी  

Written By Aakash Chhetri
Dec 15, 2022
banner_image

Claim

image

Fact

image

एउटा दृश्यसहितको सामाग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा मानिसहरू भागदौड गरिरहेका छन् । हालसालै गएको भूकम्पका रुपमा उक्त भिडियोलाई सामाजिक संजालमा प्रस्तुत गरिएको छ ।

Kingarjun· नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा एउटा सडक देखिएको छ र उक्त सडकमा सवारीसाधन तथा मानिसहरू आवतजावत गरिरहेका छन् । त्यतिकैमा मानिसहरूबीच भागदौड मच्चिएको र सवारीसाधनहरू सडकमै पल्टिएको दृश्य उक्त भिडियोमा देखिएको छ । 

प्रस्तुत सामग्रीको थमनेलमा दोलखा केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ-‘दोलखा केन्द्र बनाएर ६‍‍.० स्केलको भूकम्प ।’ 

मंगलबार पोस्ट (१३ डिसेम्बर) गरिएको दाबीसहितको प्रस्तुत सामग्रीमा करिब १९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब साढे एक सयले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या १२० भन्दा बढी रहेको छ । 

माथि उल्लेखित संख्यालाई मात्रै हेर्ने हो भने दाबीसहितको सामग्री फैलावटलाई गति ब्यापक रहेको छ । यसबाट के अनुमान लगाउन सकिन्छ भने आगामी दिनमा दाबीसहितको उक्त सामग्री झनै द्रुत गतिमा फैलिनसक्छ । यही कारण हामीले प्रस्तुत दाबी र भिडियोमा देखिएको भयानक दृश्यको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ ।

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहितको सामग्रीमा सडकमै मानिसहरू भागदौड गरिरहेको दृश्य देख्न सकिन्छ । दोलखामा भूकम्प गएको भन्ने दाबीलाई सोही भिडियोलाई बलियोगरी टेको लगाएको देखिन्छ । यही कारण हामीले सबैभन्दा पहिले उक्त भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ ।

भिडियोको वास्तविकता जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले भूकम्पसँग सम्बन्धित केही किवर्ड तयार पार्‍यौँ । तयार भएका किवर्डहरूलाई पालैपालो युट्युबमा सर्च गर्दै दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको खोजी गर्‍यौँ । यही क्रममा हामीले ‘earthquake nepal live footage’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । 

सर्चको परिणामस्वरुप हामीले अनेक नतिजा फेला पार्‍यौँ । ती नतिजाहरूमध्यबाट एउटा नतिजा हामीलाई काम लाग्ने किसिमको देखियो । उक्त भिडियोको शीर्षक रहेको छ- ‘Nepal Earthquake CCTV footage of Dharahara, Sundhara’ । News24 Nepal नामक युट्युब च्यानलमा फेला परेको उक्त भिडियो सात वर्षअघि अर्थात् ३० जुलाई २०१५ मा पोस्ट गरिएको पाइयो । भिडियोसँग उक्त युट्युब च्यानलले भिडियोबारे जानकारीसमेत दिएको छ । उक्त भिडियो नेपालमा महाभूकम्प जाँदा सुन्धारास्थित धरहरा छेवैको सीसीटीभी फूटेजमा कैद भएको दृश्य हो ।  

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दोलखामा ठूलो भूकम्प गएको भन्दै पछिल्लो समय सामाजिक संजालमा फैलाइएको दृश्य दोलखाको नभई काठमाडौँस्थित सुन्धाराको हो । उक्त भिडियो अहिलेको पनि होइन, सात वर्षअघि नेपालमा महाभूकम्प जाँदा उक्त दृश्य सीसीटीभी क्यामेरामा कैद भएको थियो ।

अर्कोतर्फ राष्ट्रिय भूकम्प मापन केन्द्रको विवरण अनुसार पछिल्लो दुई साता यता दोलखा जिल्लामा केन्द्रबिन्दु बनाएर कुनै भूकम्पको झट्का महसुस भएको छैन । केन्द्रका अनुसार पछिल्लो पटक करिब ६ महिनाअघि अर्थात् २०७९ असार १८ गते दोलखामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्प ४.१  रेक्टरस्केलको रहेको भूकम्प मापन केन्द्रको विवरणमा उल्लेख छ । 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दोलखामा भूकम्प गएको दाबीसहित हालसालै पोस्ट गरिएको सामग्री भ्रामक छ । पछिल्लो समय दोलखामा केन्द्रबिन्दू भएर गएको भूकम्पको झड्का महसुस गरिएको छैन भने अर्कोतर्फ दोलखामा भूकम्प गएको दाबीसहित फैलाइएको भिडियो सात वर्ष पहिले महाभूकम्प जाँदा काठमाडौँमा खिचिएको थियो ।    

निष्कर्ष

 दोलखामा भूकम्प गएको दाबीसहित हालसालै पोस्ट गरिएको सामग्री भ्रामक छ । दोलखामा भूकम्प गएको दाबीसहित फैलाइएको भिडियो सात वर्ष पहिले महाभूकम्प जाँदा काठमाडौँमा खिचिएको हो ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू 

EARTHQUAKE MONITORING AND RESEARCH CENTER

News24 Nepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage