दाबी: रेशम चौधरी रिहा भएपछि राजधानीमा २७ राउण्ड गोली चलेको, प्रहरीको मृत्यु भएको, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकोप्टरमा भागेको ।
तथ्य: रेशम चौधरी कारागारमुक्त भएपछि यस्ता कुनैपनि घटना घटेका छैनन् । फरक सन्दर्भका भिडियो अंशमा भ्रामक दाबीसहितका थमनेल जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
कैलालीस्थित टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय पाएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को (१२-१४ जेठ, २०८० गतेको निर्णय) सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि सोमबार रेशम चौधरी कारागारमुक्त भएका हुन् ।
रेशम चौधरी रिहाइकै सन्दर्भमा सामाजिक संजाल प्रयोगकर्तामाझ अनेक दाबीसहितका सामग्री फैलिरहेका छन् । Umesh kumar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोसहितको सामग्रीमा भयानक विरोध प्रदर्शनको दृश्य देख्न सकिन्छ । उक्त भिडियोमा मानिहरु आक्रमक बनिरहेको र नाङ्गै-बुङ्गै सडकमा उत्रिएको दृश्य जोडिएको छ ।
भिडियोसहितको उक्त सामग्रीमा दाबीहितका विभिन्न थमनेलसमेत राखिएको छ । ती थमनेलहरूमा रेशम चौधरी रिहा भएपछि हंगामा भएको, राजधानीमा २७ राउण्ड गोली चलेको, नेताहरुको मृत्यु भएको, बालुवाटारमा आगो लागेको, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टरबाट भागेको लगायतका विभिन्न दाबी गरिएको छ ।
दाबीसहितको सामग्रीमा जोडिएको थमनेलमा लेखिएको छ- ‘भर्खरै राजधानीमा २७ राउण्ड गोली चल्यो, ५ प्रहरीसहित ८ जना ढले, प्रहरीको भयो भागाभाग । भर्खरै रेशम चौधरी छुटेपछि हंगामा, बालुवाटारमा आगो लगाइदिए, प्रचण्ड हेलिकोप्टरमा भागे, हत्यारालाई छुटाएको भन्दै प्रहरीको गाडी जलाए ।’

यही सन्दर्भका अन्य सामग्री पनि सामाजिक संजालमा फेला परेका छन् । यस टिकटक पोस्टमा एउटा भिडियो समाचारको अंश देख्न सकिन्छ । उक्त समाचार भिडियोसँगै जोडिएको थमनेलमा मानिसहरूले बालुवाटार घेराउ गरेकाे, रेशम चौधरी छुट्ने भएपछि प्रचण्डमाथि ढुङ्गा प्रहार भएको र पाँचवटा गाडी जलाइएको दाबी गरिएको छ ।
थमनेलमा लेखिएको छ- ‘भर्खरै प्रचण्ड चोर देश छोड भन्दै बालुवाटार घेराउ, ८ जनाको हत्यारा रेशम चौधरी छुट्ने भएपछि प्रचण्डमाथि ढुङ्गा प्रहार, ५ गाडी जलाइयो ।’ रेशम चौधरी रिहा भए लगत्तै दाबीसहितका यस्ता सामग्रीहरु सामाजिक संजालमा फैलिरहेका छन् । भड्काउ सन्देश दिने यस्ता संवेदनशील सामग्रीहरू आगामी दिनमा झनै फैलिनसक्ने देखिन्छ । त्यसैले हामीले यी सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सामुहिक हत्या आरोपमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका रेशम चौधरी रिहा भएकै दिन सामाजिक संजालमा उल्लेखित सामग्रीहरू पोस्ट गरिएको छ । यस्ता सामग्रीहरू सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेका छन् ।
यही सन्दर्भमा हामीले फेला पारेको पहिलो सामग्रीमा रेशम चौधरी रिहा भएपछि हंगामा भएको, राजधानीमा २७ राउण्ड गोली चलेको, नेताहरुको मृत्यु भएको, बालुवाटारमा आगो लागेको, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टरबाट भागेको लगायतका दाबी गरिएको छ । यो सामग्रीमा विरोध प्रदर्शनको एउटा भयानक दृश्यसमेत जोडिएको छ । सोही दृश्यको वास्तविकता पत्ता लगाउने कोशिसबाट हामीले यो जाँचलाई अगाडि बढायौँ ।
दाबीसहितको सामग्रीमा देखिने भिडियोमा त्रिशुली खबर टीभी लेखिएको लोगोसमेत देख्न सकिन्छ । उक्त लोगोमा लेखिएका शब्दहरुलाई हामीले युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप TRISHULI KHABAR TV नामक युट्युब च्यानल फेला पर्यो । उक्त युट्युब च्यानलमा एक दिनअघि पोस्ट गरिएको एउटा सामग्रीमा सडक आन्दोलनको दृश्य जोडिएको छ, जसमा मानिहरु आक्रमक बनिरहेको र नाङ्गै-बुङ्गै सडकमा उत्रिएको दृश्य देख्न सकिन्छ ।
माथि उल्लेखित युट्युब च्यानलमा देखिएको दृश्य र सामाजिक संजालमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा जोडिएको भिडियो उस्तै छ । उक्त युट्युब च्यानलमा एक दिनअघि पोस्ट गरिएको भिडियोको अंशलाई नै टिकटकमा फैलाइएको पाइयो । उक्त युट्युब च्यानलमा पोस्ट गरिएका अन्य भिडियोहरू नियाल्दा अधिकांश सामग्रीमा भ्रामक थमनेल राखेर पोस्ट गरिएको पाइयो ।

सर्चका क्रममा फेला परेको युट्युब च्यानल अविश्वसनीय देखिएपछि हामीले थप किवर्ड तयार पार्यौँ । भिडियोमा देखिएको दृश्यका आधारमा ‘संसद भवन गेटमा पानीको फोहरा’ ‘MCC’ लगायतका किवर्डलाई युट्युबमा सर्च गर्दा MUKTINATH KHABAR नामक युट्युब च्यानलमा पोस्ट गरिएको एक वर्ष पूरानो भिडियो फेला पर्यो ।
१६ फेब्रुअरी २०२२ मा पोस्ट गरिएको उक्त भिडियो र दाबीसहितका सामग्रीमा जोडिएको भिडियो उस्तै देखिएको छ । फेला परेको उक्त भिडियोबारे उक्त युट्युब च्यानलमा लेखिएको छ- ‘एमसिसीविरुद्ध भएको प्रदर्शनका नयाँ बानेश्वरको दृश्य, पानीको फोहोरा कुनै वास्ता छैन प्रदर्शनकारीलाई !’
एमसिसीविरुद्ध प्रदर्शनका बेला खिचिएको पूरानो भिडियोलाई रेशम चौधरीको रिहाइसँग जोड्दै भ्रामक थमनेलका साथ सामाजिक संजालमा फैलाइएको तथ्य प्रस्तुत स्रोतले पुष्टि गरेको छ ।
बाँकि रह्यो, दोस्रो सामग्रीमा गरिएको दाबी । उक्त सामग्रीमा एउटा भिडियो समाचारको अंश देख्न सकिन्छ र उक्त भिडियोसँगै जोडिएको थमनेलमा मानिसहरूले बालुवाटार घेराउ गरेकाे, रेशम चौधरी छुट्ने भएपछि प्रचण्डमाथि ढुङ्गा प्रहार भएको र पाँचवटा गाडी जलाइएको दाबी गरिएको छ ।
दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा न्युज २४ टेलिभिजनको लोगो देख्न सकिन्छ । देखिएको उक्त लोगोकै आधारमा हामीले News24 Nepal युट्युब च्यानलमा पोस्ट गरिएका समाचारहरू एक-एक गर्दै नियाल्न थाल्यौँ । जाँचकै क्रममा २० घण्टाअघि पोस्ट गरिएको उक्त समाचार सामग्री माथि उल्लेखित दाबीसँग मेल खाएको पाइएन ।
पछिल्ला राष्ट्रिय गतिविधिबारे जानकारी दिइएको भिडियो सामग्रीमा र उक्त भिडियोलाई जोडेर सामाजिक संजालमा फैलाइएको जानकारीमा धेरै अन्तर देखिन्छ । उक्त भिडियो समाचारमा मानिसहरूले बालुवाटार घेराउ गरेकाे, रेशम चौधरी छुट्ने भएपछि प्रचण्डमाथि ढुङ्गा प्रहार भएको र पाँचवटा गाडी जलाइएको प्रशंग नै उल्लेख छैन ।
माथि उल्लेखित दुबै सामग्रीमा भ्रामक छन् । किनकि त्यहाँ जोडिएका भिडियो अंश र थमनेलमा रहेका दाबीहरू एक आपसमा मेल आएका छैनन् । फरक सन्दर्भका भिडियो अंशलाई रेशम चैधरीको रिहा भएको सन्दर्भसँग जोड्दै भ्रामक सामग्री उत्पादन गरी सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
रेशम चौधरी रिहा भएपछि राजधानीमा २७ राउण्ड गोली चलेको, प्रहरीको मृत्यु भएको, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकोप्टरमा भागेको लगायतका दाबी भ्रामक छन् । रेशम चौधरी कारागारमुक्त भएपछि यस्ता कुनैपनि घटना घटेका छैनन् । फरक सन्दर्भका भिडियो अंशमा भ्रामक दाबीसहितका थमनेल जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co



