Monday, December 15, 2025

Fact Check

Fact Check: के हो सिआइबीसँग जोड्दै पोस्ट गरिएको भिडियोको वास्तविकता?

Written By Aakash Chhetri
Nov 19, 2024
banner_image

Claim

image

Fact

image

दाबी: गगन थापा र धनराज गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको छ ।
तथ्य: सिआइबीसँग असम्बन्धित पुरानो घटनाको भिडियोलाई भ्रामक र अपुष्ट जानकारीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ । 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासँग सम्बन्धित सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त सामग्रीमा गगन थापा र धनराज गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको दाबी गरिएको छ ।   

It’s News Time नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाल प्रहरीका वरिष्ठ अधिकारी देखिने दृश्य जोडिएक छ । भिडियोमा उनले अग्रपंतिमा आएर केही बोलिरहेको देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘गगन थापा र धनराज गुरुङलाई पक्राउ पर्ने सम्भावना, सिआइबीले गोप्य सूचना निकालेको छ ।’

१७ नोभेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा तीन हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा एक सयभन्दा बढी प्रतिक्रिया आएको दाबीसहितको सामग्री सय भन्दा बढी पटक सेयर भइसकेको छ । 

के नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको हो त? दाबीसँगै जोडिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई जोडिएको भिडियोमा नेपाल प्रहरीका वरिष्ठ अधिकारीसमेत देखिएका छन् । जाँचका क्रममा उनी नेपाल प्रहरीका एसएसपी श्याम कृष्ण अधिकारी रहेको पत्ता लाग्यो ।

भिडियोको जाँचका क्रममा हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । साथै ‘श्यामकृष्ण अधिकारी’ लगायतका विभिन्न वाक्यांशसमेत जाँच गर्‍यौँ । जाँचको नतिजास्वरुप Online Khojkhabar TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । ४ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको भिडियोमा ‘बाँके प्रहरीदले नेपालगंज विमानस्थलबाट चार किलो सुनसहित दुईजना पक्राउ’ गरेको दाबी गरिएको छ । 

फेला परेको तीन वर्ष पुरानो भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमासमानता देख्न सकिन्छ । यही क्रममा हामीले थप जाँच गर्‍यौँ । ‘बाँके प्रहरी’ ‘नेपालगंज विमानस्थल’ ‘४ किलो सुन’ ‘दुई जना पक्राउ’ लगायतका वाक्यांश सर्च गर्‍यौँ ।

जाँचको नतिजास्वरुप Nagarik Samaj नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । ४ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको भिडियोमा तत्कालीन बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई देख्न सकिन्छ । भिडियोमा उनले नेपालगंज विमानस्थलबाट ४ किलो सुनसहित दुई जना पक्राउ परेको घटनाबारे जानकारी दिइरहेका छन् ।

थप जाँचका क्रममा Dastabej.com नामक फेसबुक पेजमा पनि अर्को भिडियो फेला पर्‍यो । ७ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको यो भिडियो दाबीसहित पोस्ट गरिएको दृश्यसँग मिल्दो छ । 

पुरानो घटनाको जाँचका क्रममा हामीले annapurnapost.com मा प्रकाशित फेला पार्‍यौँ । १८ भदौ २०७८ मा प्रकाशित समाचार अनुसार बाँके प्रहरीले राँझास्थित नेपालगञ्ज विमानस्थलबाट अवैध सुनसहित दुई जना ब्यक्तिलाई पक्राउ गरेको थियो । उक्त समाचारमा जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रमुख एसपी श्यामकृष्ण अधिकारीको भनाई पनि राखिएको छ । 

फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने अवैध सुन र संलग्न आरोपीलाई सार्वजनिक गरेपछि खिचिएको बाँके जिल्लाका तत्काली प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसँग सम्बन्धित भिडियोलाई सिआइबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

अर्कोतर्फ दाबीसहितको भिडियोमा देखिएका श्याम कृष्ण अधिकारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा छैनन् । पछिल्लो समय श्याम कृष्ण अधिकारी एसएसपी भइसकेका छन् र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रवक्ताको रुपमा कार्यरत छन् ।  

२०७८ मा खिचिएको फरक सन्दर्भको घटनासँग सम्बन्धित भिडियोलाई सिआइबी र नेपाली कांग्रेसका नेताद्वय गगन थापा र धनराज गुरुङसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । 

निष्कर्ष

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको भन्दै पोस्ट गरिएको भिडियोले भ्रामक सन्देश दिएको छ । सिआइबीसँग असम्बन्धित पुरानो घटनाको भिडियोलाई भ्रामक र अपुष्ट जानकारीसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, annapurnapost.com 
भिडियो, Online Khojkhabar TV 
भिडियो, Dastabej.com
भिडियो, Nagarik Samaj


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage